इटहरी । धरानमा जारी नाटक ‘बसाईँ’ बुधबारबाट सकिएको छ । चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीद्धारा लिखित उपन्यास बसाईँलाई नाटकमा रुपान्तरण गरी धरानमा माघ ९ गतेदेखि नाटक प्रदर्शन गरिएको थियो । भारतको प्रतिष्ठित पुरस्कार पद्यश्री पुरस्कारबाट सम्मानित हुन लागेका लेखक क्षेत्रीले नेपाली साहित्यमा समेत महत्वपूर्ण योगदान पु¥याएका छन् ।
तरहराका कवि विनय सरगमले बसाईँ उपन्यासलाई नाटकमा रुपान्तरण गरेका थिए । नाटक बसाइँ बुधबार ७ औँ दिनमा १६ औं पटक मञ्चन हुँदै सकिएको थियो । नाटक प्रदर्शन भईरहँदा बुधबार दर्शक दीर्घमा रहेका मानिसहरु रुइरहेको आवाज निकालिरहेका थिए ।
नाटकको पात्र ‘धने’ र ‘मैना’ ले आफ्नो साहुको क्रण तिर्न नसक्दा गाउँ घर मायाँ मारेर बसाईँ जानु परेको दृष्य अगाडि घरमा रहेको तुलसाको मोठमा पानी चढाउँनु, मैनाले रुँदै–रुँदै परेवालाई चारो दिनु, बाख्रालाई घाँस दिन जानु र भुईँमा ढोगेर सधाँका लागि बसाईँ जानु परेको दृष्यले आम मानिसको ध्यान केन्द्रीत गर्यो ।
दर्शकहरु नाटक हेरिरहँदा रुईरहेको दृष्य प्रष्ट देख्न सकिन्थ्यो । बसाईँ नाटकले वास्तविक जीवनलाई चित्रण गरेको छ । व्यवस्थामा जति परिवर्तन भए पनि समाजको विभेदी अवस्थाको अनुहार नबदलिएकाले तीतो यथार्थ सन्देश दिन सफल बसाइँको नाटकीय रूप अत्यन्त सबल बनेको थियो । नेपाली समाजमा अहिले पनि मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा बसाईँ सरेर जाने गरेका छन् । हरेक समय मानिसले आफ्नो सुखका लागि बसाईँ सरिरहेका छन् । यही चित्रणलाई आधार मानेर लेखिएको उपन्यास हो बसाईँ ।
पहाडी जीवन र आप्रवासको चित्रण गरिएको चर्चित उपन्यास ‘बसाईं’ लीलबहादुर क्षेत्रीले लेखेका हुन् । भारतको आसाममा सन् १९३४ मा जन्मेका क्षेत्रीको बसाईँ उपन्यास पुराना पुस्तादेखि नयाँ पुस्तासम्म परिचित छ । अर्थात्, क्षेत्रीले लेखेको बसाईँ मानिसले बाँचेको हरेक समयको कथा हो । उनको यो उपन्यास कालजयी छ । नेपाली भाषामा मुनामदनपछि सबैभन्दा बढी बिक्री हुने कृति हो बसाईँ ।
नाटकका निर्देशक मिलन चाम्लिङका अनुसार नाटकको माग अत्यन्त आएको र आँफूहरुले विविध कारणले यसपछि नाटक देखाउँन नसक्ने बताए । उनका अनुसार एकैदिन नाटक चार सो सम्म मञ्चन गरिएको थियो ।
नाटकमा कलाकारहरु विकास पराजुली, तुलसा थापा, शंकर थापा, मिलन चाम्लिङ, गोमा पौडेल, एनुमा चाम्लिङ, बलबहादुर राई, मिलन भुजेल र सन्देश दाहालको दमदार अभिनय रहेको थियो । नाटकमा संगीत संयोजन विनायक राईको छ भने प्रकाशन संयोजन हरि इवाहाङ लिम्बुले गरेका थिए ।