काठमाडौं। दक्षिण कोरियाकी गायिका तथा अभिनेत्री गू हाराको मृत्यु भएको छ । उनी आइतबार मृत अवस्थामा भेटिएको राजधानी सिओलको गङनम पुलिसलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ । यी २८ वर्षीया गायिका कुनै समयमा दक्षिण कोरिायली सांगीतिक समूह काराकी सदस्य थिइन् ।

उनी यसअघि मे महिनामा पनि सिओलस्थित घरमा बेहोश अवस्थामा फेला परेकी थिइन् । उनले त्यतिखेर आफ्नो इन्स्टाग्राम अकाउन्टमा ‘गुडबाइ’ लेखेकी थिइन् । उक्त पोस्ट पछि डिलिट गरिएको थियो । चिन्तित प्रशंसकहरूले त्यतिखेर थुप्रै कमेन्ट गरेका थिए । त्यतिखेर गूलाई अस्पताल लगिएको थियो । पछि उनले प्रशंसकहरूसँग माफी मागेकी थिइन् ।

गूको मृत्युले कोरियाली पप स्टारहरूमाथि रहेको चरम दबाबका विषयमा पुनः बहस निम्त्याएको छ । समीक्षकहरूका अनुसार, गायक गायिकामाथि अनलाइनमा कठोर आलोचना गरिने भएकाले चरम दबाब छ । त्यतिखेर अस्पताल पुगेको एक महिनापछि गूले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै छुद्र कमेन्ट गर्नेहरूमाथि कानूनी कारवाही चलाउने बताएकी थिइन् र आफू डिप्रेसनमा परेको खुलासा गरेकी थिइन् ।

गूले पूर्व प्रेमी चोइ जोङ–बमसँग सार्वजनिक विवाद समेत गरेकी थिइन् । चोइले आफूहरूबीच भएको सेक्सको भिडियो सार्वजनिक गरिदिने धम्की दिएर ब्ल्याकमेल गरेको आरोप उनले लगाएकी थिइन् । चोइले शुरूमा त यसको खण्डन गरे तर पछि दोषी पाइएपछि उनलाई सजाय दिइएको थियो । एक महिनाअघि मात्र कोरियाली सेलेब्रिटी सुली सिओलस्थित घरमा मृत फेला परेकी थिइन् । उनलाई पनि डिप्रेसन भएको बताइएको थियो । सुली र गू नजिकैका साथी भएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

तपाईको प्रतिक्रिया