काठमाडौं । हिमालय टेलिभिजनमा प्रसारणमा भइरहेको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा नकआउट राउण्ड सुरु भएको छ । ब्लाइन्ड अडिसनबाट छानिएका ६४ प्रतिभाहरुले ब्याटल राउण्डमा सांगीतिक भिडन्त गरेका थिए । भिडन्तमा सफल हुने ३६ जना प्रतिभाहरुले अब नकआउट राउण्डको प्रतिस्पर्धामा भिड्नेछन् ।
ब्याटल राउण्डमा हरेक कोचले ८ जना प्रतिस्पस्धीलाई छनोट गरेका छन् भने एक जना प्रतिभालाई अर्को टिमबाट स्टिल गरेर आफ्नो टिममा समेटेका छन् । अब चारै जना कोचको टिममा ९–९ जना प्रतिभाहरु छन् । उनीहरुले नकआउट राउण्डमा कडा प्रतिस्पर्धाको सामना गरी लाइभ राउण्डमा प्रवेश गर्नेछन् ।
नकआउटबाट हरेक कोचको टिममा ३–३ जना प्रतिभाहरु लाइभ राउण्डमा पुग्नेछन् । नकआउट राउण्डको पहिलो एपिसोड यही शुक्रबार साँझ ८ बजे प्रसारण हुने छ । हालसम्म कोचको निर्णयका आधारमा अगाडि बढेको प्रतिभाहरुलाई लाइभ राउण्डसँगै जनमतको पनि साथ रहनेछ ।
अर्थात् लाइभ राउण्डका हरेक प्रस्तुतीमा दर्शकले एसएमएस र अनलाइन भोटिङमार्फत् आफुले मन परेको प्रतिभालाई मत दिन सक्नेछन् । दर्शकको भोट र कोचको रायका आधारमा उत्कृष्ट चार जना प्रतिभा ग्राण्ड फिनालेका लागि पुग्नेछन् । मनपर्ने प्रतिभालाई भोट गर्न देश तथा विदेशमा रहेका दर्शकहरुले प्रभु पे को एप डाउनलोड गरी भोट दिन सक्नेछन् ।