बलिउडमा मी टु अभियानमार्फत केही निर्देशक, निर्मातामाथि यौनशोषणको आरोप लागेको छ । यसै सन्दर्भका १९९० को दशककी चर्चित अभिनेत्री करिश्मा कपुरको पनि बयान सार्वजनिक भएको छ । एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘केही समयदेखि महिलाका कहानी सुनेपछि म स्तब्ध भएकी छु । तर, म उनीहरूको हिम्मतको सम्मान गर्छु ।’ नयाँ पत्रिकामा खबर छ ।
करिश्माका अनुसार उनीहरूले निकै धेरै सहेका छन् । तर, यो ठूलो कुरा हो कि अहिले बाहिर आएर उनीहरूले आफ्नो कुरा राखेका छन् । उनले भनेकी छिन्, ‘यो मामलामा दोषीलाई सजाय दिनुपर्छ । कार्यक्षेत्रमा महिलालाई सुरक्षित बनाउन प्रयास गर्नुपर्छ ।’ अचेल करिश्मा फिल्मी दुनियाँदेखि टाढा छिन् । तर, उनी केही इभेन्ट ब्रान्ड प्रमोसन र विज्ञापनमा भने देखिने गरेकी छिन् ।